त्रिभुवन विश्वविद्यालय ले लामो समयदेखि रोकिएका तथा अनियमित भएका परीक्षालाई नियमित बनाउने प्रयास तीव्र पारेको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०५३ सालदेखि रोकिएका ‘मौका परीक्षा’समेत असारसम्म सञ्चालन गरिनेछ।
Advertisement
हाल विश्वविद्यालयले महिनामा ३–४ प्रकारका परीक्षा सञ्चालन गर्दै शैक्षिक पात्रो मिलाउने काम गरिरहेको छ। वैशाखमै विभिन्न तहका चार प्रकारका परीक्षा भइरहेका छन् भने जेठ र असारमा बाँकी परीक्षाको तालिका सार्वजनिक भइसकेको छ।
विश्वविद्यालयले असारसम्म सबै रोकिएका परीक्षा सम्पन्न गरी आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्ने जनाएको छ। अहिलेका परीक्षामा करिब १ लाख १५ हजार विद्यार्थी सहभागी छन्।
यसैबीच, परीक्षा सकिएको १०० दिनभित्र नतिजा प्रकाशन गर्ने व्यवस्था पनि लागू गरिएको छ।