राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीको विकासलाई पार्टीले प्राथमिकतामा राख्ने बताएका छन् ।
शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कर्णालीले रास्वपाका उम्मेदवारलाई जिताए वा नजिताए पनि प्रदेशको विकासमा पार्टीले ध्यान दिने बताए ।
उनले कर्णालीसँग विकासका नाममा कुनै राजनीतिक सौदाबाजी नगर्ने स्पष्ट पारे। रास्वपाका उम्मेदवारलाई जिताए मात्रै विकास गर्ने र मत नदिए विकास नगर्ने भन्ने सोच पार्टीको नरहेको उनको भनाइ थियो ।
उनले भने, ‘हाम्रा उम्मेदवारलाई विजयी गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ, चाहे जीवनभर हारौँ। रास्वपा सरकारमा रहुन्जेलसम्म कर्णालीले एक जना मात्र पनि नपठाओस्, एक भोट पनि नदियोस्, कर्णाली रास्वपाको प्राथमिकता रहनेछ।’
उनले कर्णालीमा रास्वपाको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व अन्य प्रदेशको तुलनामा कमजोर रहेको स्वीकार गरे। पार्टीको आवाज कर्णालीका दूरदराजसम्म पु¥याउन नसकिएको उल्लेख गर्दै उनले आगामी दिनमा कर्णालीका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए।
लामिछानेले रास्वपाको स्थापना शान्तिपूर्ण विद्रोहको उद्देश्यसहित भएको बताए। मुलुकले विगतका विद्रोहको भार धान्न सक्ने अवस्था नरहेको भन्दै उनले रगतको एक थोपा पनि नचुहाई तथा कुनै परिवारलाई पीडामा नपारी परिवर्तनका लागि विद्रोह गर्ने उद्देश्यले पार्टी स्थापना गरिएको उल्लेख गरे।
