कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीको पहलमा भरतपुरमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना गरिएको छ ।
नेपालका प्राकृतिक जलस्रोतमा पाइने जङ्गली ‘जेब्रा फिस’ को पहिचान, आनुवंशिक विविधताको अध्ययन, संरक्षण तथा आधुनिक जैविक अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले भरतपुर महानगरपालिका–७ मा नेपाल जेब्रा फिस इन नेचर सेन्टर (एनजिन्क) स्थापना गरिएको हो । केन्द्रको आज एक समारोहबीच उद्घाटन गरिएको छ ।
केन्द्रले नेपालका जङ्गली ‘जेब्रा फिस’ सम्बन्धी अनुसन्धानलाई अन्तरराष्ट्रिय वैज्ञानिक तथा अनुसन्धान संस्थासँग जोड्दै मानव स्वास्थ्य, कृषि, पशु स्वास्थ्य, वातावरण, जल प्रदूषण र जैविक विविधतासम्बन्धी अध्ययन अघि बढाउने लक्ष्य लिएको छ ।
केन्द्रको उद्घाटन गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ऋषिराम कट्टेलले विश्वविद्यालयले पठनपाठनसँगै अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । उहाँले जेब्राफिस अनुसन्धानमा रुचि राख्ने युवाको पहललाई विश्वविद्यालयले अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, वन तथा वातावरण विषयका प्राध्यापक र विद्यार्थीलाई अनुसन्धानमा जोड्नुका साथै मानव स्वास्थ्यसँग सम्बन्धित विश्वविद्यालय तथा अस्पतालसँग सहकार्य गर्न सके अनुसन्धानको दायरा फराकिलो हुने उहाँको भनाइ थियो ।
उहाँले जेब्राफिस आकारमा सानो भए पनि मानव स्वास्थ्य र रोगसम्बन्धी अध्ययनका लागि महत्त्वपूर्ण अनुसन्धान जीव भएको बताउनुभयो । मानवसँग करिब ७० प्रतिशत जीन समानता रहेको जेब्राफिस भ्रुण विकास, आनुवंशिक रोग, औषधि परीक्षण तथा विभिन्न जैविक प्रक्रियाको अध्ययनमा उपयोगी हुने उहाँले उल्लेख गर्नुभयो ।
