नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा भोलि मंसिर १२ गते दर्शकले चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति हेर्न पाउने भएका छन्।
महोत्सवको सांस्कृतिक कार्यक्रममा गायक कमल बि.सी. (माइला दाइ बर्दियाको बाघ), गायिका बिन्दा परियार र गायक भुवन अधिकारीले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ।
महोत्सवमा दैनिक राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुति, नारायणी कला मन्दिर नारायणगढका सांस्कृतिक कार्यक्रम तथा विभिन्न आदिवासी जनजातिका मौलिक सांस्कृतिक झाँकी र प्रस्तुति समेटिँदै आएका छन्।
महोत्सव परिसरमा राखिएका विभिन्न व्यापारिक स्टल, बाल उद्यान, जिरो ग्र्याभिटी राइड, ३६० डिग्री राइड तथा आकर्षक पिरामिड गेटले पनि आगन्तुकको ध्यान खिचिरहेका छन्।
महोत्सव प्रवेशका लागि साधारण टिकट १०० रुपैयाँ र विद्यार्थीका लागि ८० रुपैयाँ तोकिएको छ। विशेष कन्सर्ट आयोजना हुने दिन साँझ ५ बजेदेखि राति ९ बजेसम्म छुट्टै कन्सर्ट जोन सञ्चालन हुनेछ। उक्त क्षेत्रमा प्रवेशका लागि साधारण टिकट ३०० र भिआईपी टिकट ५०० रुपैयाँ निर्धारण गरिएको छ। कन्सर्टमा सहभागी नहुने दर्शकले भने नियमित टिकटबाटै महोत्सव अवलोकन गर्न सक्नेछन्।
