घर नजिकैबाट खोला बग्छ तर मकवानपुरका बोटे समुदायले जाल हान्न पाउँदैनन् । घरको छेवैमा अम्रेसो छ तर वनकरियाले आफ्नो रैथाने पेसा कुचो बनाएर बेच्न पाउँदैनन् ।
चेपाङ समुदायमा दाइजोमा नै पाएको चिउरी फुल्छ तर फल लाग्दैन । यी समस्याहरू मकवानपुरका आदिवासी जनजाति, सीमान्तकृत र लोपोन्मुख समुदायको हो, जसको प्रथाजनिक अभ्यास जीवनशैली नै जल र जङ्गलसँग जोडिएको छ ।
यी समुदायलाई समस्या थाहा छ तर कारणबारे भने अगुवाहरूबाहेकका सदस्यहरू अनविज्ञ छन् । नदी, वन र पहाडसँग गहिरो सम्बन्ध गाँसेर पुस्तौँदेखि प्रकृतिसँग सहअस्तित्वमा बाँचेका समुदायहरू आज विकासको बदलिँदो स्वरूप, संरक्षण नीतिको कठोरता र जलवायु परिवर्तनको असरको दोहोरो–तेहोरो दबाबमा भएको अगुवाहरूको बुझाइ छ ।
उहाँहरूको परम्परागत ज्ञान, पुर्खौंदेखि हस्तान्तरण हुँदै आएको जीवनपद्धति, सांस्कृतिक अभ्यास र जीविकोपार्जनका आधारहरू क्रमशः कमजोर बन्दै गएका छन् ।