धेरै मानिसमा देखिने नाक कोट्याउने बानी सामान्य जस्तो लागे पनि यसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। बालबालिकादेखि वयस्कसम्ममा पाइने यो बानीले नाकभित्रको संवेदनशील छालामा क्षति पुर्याउनुका साथै विभिन्न संक्रमणको जोखिम बढाउँछ।
नाकभित्रको छाला निकै नरम हुने भएकाले बारम्बार औंला हाल्दा च्यातिन सक्छ, जसले साना घाउ, जलन र दुखाइ निम्त्याउँछ। यस्तै, नाकभित्र रहेका साना रक्तनलीहरू फुट्न सक्ने हुँदा नाकबाट रगत बग्ने समस्या पनि देखिन सक्छ।
अर्कोतर्फ, हातमा रहेका ब्याक्टेरिया र भाइरस नाकमार्फत शरीरभित्र प्रवेश गर्दा रुघाखोकी तथा अन्य संक्रमणको जोखिम बढ्छ। बारम्बार नाक कोट्याउँदा नाकभित्र सुन्निने समस्या भई सास फेर्नसमेत गाह्रो हुन सक्छ।
विशेषज्ञहरूले यस्तो बानीबाट बच्न टिस्यु वा नेपकिन प्रयोग गर्न, हातहरू व्यस्त राख्न र बालबालिकालाई सानैदेखि सही बानी सिकाउन सुझाव दिएका छन्।