बाँके जिल्लाका दुई चक्ला वनसहित १२ वटा सामुदायिक वनमा डढेलो लागेको छ। एक सातादेखि फैलिएको आगलागीका कारण करिब ४ हजार हेक्टर वन क्षेत्र प्रभावित भएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।
कार्यालयका योजना अधिकृत सुशील सुवेदीका अनुसार शम्शेरगञ्ज माथेमा चक्ला वन, भुवरभवानी चक्ला वन, झिँझरी महिला सामुदायिक वन, राप्ती पीडित गुलरी सामुदायिक वनलगायतका क्षेत्रमा आगलागी फैलिएको छ। डढेलो नियन्त्रणका प्रयास जारी रहे पनि वनको भित्री भागमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
जनशक्ति र स्रोतको अभावका कारण डढेलो नियन्त्रणमा कठिनाइ भइरहेको जनाइएको छ। हाल १४ जनाको डढेलो नियन्त्रण दस्ता परिचालन गरिएको छ भने २ हजार लिटर क्षमताको ट्याक्टरबाट राजमार्ग आसपासका क्षेत्रमा मात्र आगो निभाउने काम भइरहेको छ। भित्री क्षेत्रमा पुग्न सक्ने दमकलको अभाव रहेको कार्यालयले जनाएको छ।
बढ्दो खडेरीका कारण आगलागी थप फैलिने जोखिम रहेको भन्दै “केही दिनभित्र वर्षा नभए स्थिति झन् जटिल बन्न सक्छ,” सुवेदीले बताएका छन्। जिल्लामा करिब ५० हजार हेक्टर वन क्षेत्र रहेको छ।
यसैबीच, सिक्टा नहरमा फसेको चित्तल मारेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। उनीहरूलाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ भने चार वटा चित्तलको स्थानीयले उद्धार गरेका छन्। खडेरीका कारण पानी खोज्दै नहर पुगेका चित्तलहरू त्यहीँ फसेका थिए।