३१औँ स्टार कप फुटबल प्रतियोगिता–२०८४ को उपाधि एप्पल गुरु सूर्यपुर फुटबल क्लब, कालिकाले हात पारेको छ।
तिज पर्वको दिन आज माडी–१ बरुवास्थित स्टार खेल मैदानमा भएको फाइनल खेलमा एप्पल गुरु सूर्यपुर फुटबल क्लब र लोकतान्त्रिक प्याराडाइज युवा क्लब, रत्ननगरबीच प्रतिस्पर्धा भएको थियो।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा प्याराडाइज युवा क्लबलाई पराजित गर्दै सूर्यपुरले उपाधि चुमेको हो।
उपाधिसँगै विजेता सूर्यपुरले नगद २ लाख ७७ हजार ७७७ रुपैयाँ तथा उपविजेता प्याराडाइजले १ लाख ३८ हजार ८८८ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको थियो।
स्टार स्पोर्ट युवा क्लब माडी–१ बरुवाको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
