रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका शवमध्ये ३३५ वटा व्यवस्थापन गरिएको छ। तीमध्ये १२९ शवको लिङ्गसमेत पहिचान हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाढीपछि जिल्लामा हालसम्म ३४८ वटा शव फेला परेका छन्। तीमध्ये १२ वटा शवको सनाखत भएको छ भने एउटा शव व्यवस्थापन गर्न बाँकी छ।
पहिचान खुल्न नसकेका शवलाई भरतपुर महानगरपालिका–१ देवघाटस्थित जङ्गल क्षेत्रमा डिएनए नमुना सुरक्षित राखेर अस्थायी रूपमा व्यवस्थापन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शव व्यवस्थापनमा कठिनाइ भएपछि शनिबारदेखि डिएनए नमुना सुरक्षित राखेर जङ्गल क्षेत्रमा खाडल खनी शव व्यवस्थापन गर्न थालिएको हो।
प्रहरीका अनुसार शनिबार ९६, आइतबार १०३, सोमबार ८१ र मङ्गलबार ५५ वटा शव व्यवस्थापन गरिएको छ। व्यवस्थापन गरिएका शवमध्ये १२९ जनाको लिङ्गसमेत पहिचान हुन सकेको छैन। त्यस्तै १०७ पुरुष, ७३ महिला, १५ बालिका र ११ बालक रहेको प्रहरीले जनाएको छ।
शवबाट सङ्कलन गरिएका डिएनए नमुना सुरक्षित राखिएको प्रहरीको भनाइ छ। सनाखत भएका शव भने आवश्यक प्रक्रिया पूरा गरी परीक्षणपछि परिवारजनलाई बुझाइएको छ। नदी किनार तथा विभिन्न क्षेत्रमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा शव व्यवस्थापनमा परिचालित छ।
बाढीपछि बेपत्ता भएका व्यक्तिको पहिचान गर्न चितवनमा आफन्तको डिएनए नमुना सङ्कलन सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा इकाइ र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरबाट मङ्गलबारदेखि आफन्तको डिएनए नमुना सङ्कलन थालेको हो।
