सडक डिभिजन कार्यालय दमौलीले आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार निर्माण तथा मर्मतसम्भारका क्षेत्रमा विभिन्न काम सम्पन्न गरेको छ ।
कार्यालयले उक्त आर्थिक वर्षमा नयाँ सडकको ट्रयाक खोल्नेदेखि सडक ग्राभेल, कालोपत्र, ढलान तथा नियमित मर्मतसम्भारलगायत काम गरेको हो ।
कार्यालय प्रमुख राजिव श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कार्यालयअन्तर्गत सञ्चालन भएका विभिन्न कार्यक्रममार्फत ३.२ किलोमिटर सडकको ट्रयाक खोल्नेकार्य सम्पन्न भएको छ ।
उक्त कार्यबाट तनहुँका बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न क्षेत्रमा आन्तरिक आवागमनमा सुधार आएको उहाँले बताउनुभयो । त्यस्तै, ७.३० किलोमिटर सडक ग्राभेल गरिएको छ ।
व्यास नगरपालिका र घिरिङ गाउँपालिकाका विभिन्न क्षेत्रमा ग्राभेल सडक निर्माण गरिएको हो । यसबाट स्थानीयस्तरमा सडकको पहुँच विस्तार हुनुका साथै वर्षायाममा आवागमन सहज बनाउन सहयोग पुगेको श्रेष्ठको भनाइ छ ।
सो अवधिमा २.६० किलोमिटर सडक कालोपत्र र ३.१६ किलोमिटर सडक ढलान गर्ने कार्यसमेत सम्पन्न भएको छ । व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाअन्तर्गतका सडकमा कालोपत्र तथा ढलानको काम गरिएको उहाँले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार ११६.५० किलोमिटर सडकमध्ये ८०.५० किलोमिटर राष्ट्रिय राजमार्ग र ३६ किलोमिटर सहायक राजमार्गको नियमित तथा पटके मर्मत गरेको छ । सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, बिग्रिएका संरचना मर्मत गर्ने तथा सडकलाई सञ्चालनयोग्य अवस्थामा राख्ने काम गरिएको श्रेष्ठले बताउनुभयो ।
सडक मर्मतका कारण राजमार्ग तथा सहायक राजमार्गमा यातायात सञ्चालनलाई निरन्तरता दिन सहयोग पुगेको उहाँको भनाइ छ । विशेषगरी वर्षायाममा सडकमा आउने समस्या तत्काल सम्बोधन गरी यातायात सञ्चालनमा सहजीकरण गरिएको उहाँले बताउनुभयो ।
