नेपालमा आएको विनाशकारी बाढीपछि केही सिंगापुरेली नागरिक भोटेकोशी क्षेत्रमा बेपत्ता भए। संयोगवश, ती सिंगापुरेली नागरिक भारतीय मूलका सिंगापुरेली रहेछन् ।
उक्त घटनालाई लिएर सिंगापुरको सामाजिक सञ्जालमा बहस चल्दा केही व्यक्तिले सिंगापुरको भारतीय समुदायलाई लक्षित गर्दै जातीय तथा घृणात्मक टिप्पणी गरे। विषय सामान्य सामाजिक सञ्जालका पोस्ट र कमेन्टको क्षणिक आवेगमा मात्र सीमित रहेन। सामाजिक सद्भाव बिगार्न सक्ने सामग्री फैलिन नदिन सिंगापुर सरकारले तत्काल चासो देखायो। प्रहरीले अनुसन्धान अघि बढायो र सामाजिक सद्भावमा असर पार्ने सामग्री नियन्त्रण गर्न आवश्यक कदम चाल्यो। त्यस्ता सामग्री पोस्ट गर्ने केही व्यक्तिलाई कानुनी प्रक्रियाको दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाइयो।
अब प्रश्न नेपालतर्फ फर्किन्छ।
नेपालमा पनि यही विनाशकारी बाढीकै बीच हिजोआज सामाजिक सञ्जालमा प्रधानमन्त्री होस् वा पूर्वप्रधानमन्त्री, नेता होस् वा अन्य विशिष्ट व्यक्ति—उनीहरूको नक्कली फोटोमा जुत्ताको माला लगाउने, कालो मुसो दल्ने, एआईमार्फत विकृत तस्वीर बनाउने तथा अश्लील र अपमानजनक गालीगलौज गर्ने प्रवृत्ति सामान्यजस्तै बन्दै गएको छ।
अझ दुःखद कुरा, विपत्तिमा आफ्ना परिवारका सदस्य गुमाएका पीडित नागरिकलाई समेत सामाजिक सञ्जालमा अमानवीय गालीगलौज गरिएको अवस्था देखिन्छ। यस्तो गालीगलौजको प्रकृति बिस्तारै वैयक्तिक स्तरबाट संस्थागत र जातिगत घृणातर्फ जान सक्ने खतरा दीर्घकालीन रूपमा अझ डरलाग्दो देखिन्छ।
सरकारको आलोचना गर्न पाइन्छ। नेताको विरोध गर्न पाइन्छ। प्रश्न उठाउन र असहमति व्यक्त गर्न पाइन्छ। तर ती सबै तथ्य र तर्कमा आधारित हुनुपर्छ।
स्वतन्त्रताको अर्थ कसैलाई जे मन लाग्यो त्यही ढंगले अपमान गर्ने, चरित्र हत्या गर्ने वा घृणा फैलाउने छुट होइन।
सिंगापुरको घटनाबाट नेपालले कम्तीमा केही कुरा सिक्नुपर्छ।
१. सामाजिक सञ्जालको अराजकता सामान्य कुरा होइन
यसले बिस्तारै व्यक्तिको सम्मान, सामाजिक सम्बन्ध र अन्ततः राष्ट्रिय एकतालाई समेत कमजोर बनाउन सक्छ।
२. अभिव्यक्ति स्वतन्त्रता र घृणा फैलाउने स्वतन्त्रता फरक कुरा हुन्
आलोचना र असहमतिलाई संरक्षण गर्दै जातीय, धार्मिक तथा सामुदायिक घृणा फैलाउने, हिंसा भड्काउने सामग्री उत्पादन गर्ने र चरित्र हत्या गर्ने कार्यलाई कानुनको दायरामा ल्याउनुपर्छ।
३. एआई प्रविधिबाट बनाइएका झुटा तथा विकृत तस्वीर र भिडियो अझ गम्भीर चुनौती हुन्
अब “यो त फेसबुकको मजाक हो” भनेर वा मोनिटाइजेसनको लोभमा बनाइने र फैलाइने यस्ता सामग्रीलाई बेवास्ता गर्ने अवस्था छैन। एआई प्रविधिको दुरुपयोगले व्यक्ति, समाज र राज्यलाई नै गम्भीर क्षति पुर्याउन सक्छ।
४. समस्या ठूलो भएपछि नियन्त्रण गर्ने होइन, सुरुमै रोकथाम गर्नुपर्छ
सिंगापुरले देखाएको पाठ यही हो—डिजिटल संसारमा फैलिएको विषले वास्तविक समाजलाई असर गर्नुअघि राज्य सचेत हुनुपर्छ।
नत्र नेपालले भौतिक क्षति त व्यहोरिसकेको छ, अब सामाजिक क्षतिको खतरा झन् बढ्दै जान सक्छ।
५. डिजिटल साक्षरता र जिम्मेवार नागरिक व्यवहार पनि कानुन जत्तिकै आवश्यक छ
देखियो भन्दैमा विश्वास गर्ने र विश्वास गरियो भन्दैमा तुरुन्तै शेयर गर्ने होइन।
पहिले जाँचौँ, अनि मात्र विश्वास र शेयर गरौँ।
नेपालले पनि—
“देखियो → रमाइलो लाग्यो → शेयर गरियो”
भन्ने संस्कारबाट
“देखियो → जाँचियो → विश्लेषण गरियो → विश्वास गरियो → अनि मात्र शेयर गरियो”
भन्ने संस्कारतर्फ जानुपर्छ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने नेपाललाई सरकारको नियन्त्रणमा रहेको सामाजिक सञ्जाल मात्र होइन, जिम्मेवार, मर्यादित र स्वतन्त्र सामाजिक सञ्जाल चाहिएको हो।
किनकि स्वतन्त्रता भनेको जे मन लाग्यो त्यही बोल्ने अधिकार मात्र होइन। आफ्नो बोली, व्यवहार र अभिव्यक्तिले समाजमा पार्ने प्रभावको जिम्मेवारी लिनु पनि हो।
सिंगापुरले एउटा महत्वपूर्ण कुरा बुझेको रहेछ भन्ने लाग्छ—सामाजिक सद्भाव समाज र सडकमा मात्र होइन, मोबाइलको स्क्रिनभित्र पनि जोगाउनुपर्छ।
नेपालले यो कुरा समयमै बुझेन भने आजको डिजिटल छाडापन भोलि सामाजिक ध्रुवीकरण र राष्ट्रिय संकटको कारण बन्न सक्छ।
प्रश्न अब सरकारलाई मात्र होइन, हामी प्रत्येक नागरिकलाई पनि हो—
हामीलाई स्वतन्त्र सामाजिक सञ्जाल चाहिएको हो कि छाडा सामाजिक सञ्जाल?
– नारायण पाैडेल, माडी-३, चितवन
