पवित्र तीर्थस्थल देवघाटका केही धर्मशालाहरूको अवस्था अव्यवस्थित र लथालिङ्ग रहेको भन्दै बिश्व हिन्दु युवा संघ चितवन तथा जय सनातन अभियानका अध्यक्ष श्याम पौडेलले चिन्ता व्यक्त गर्नुभएको छ ।
आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत् धारणा सार्वजनिक गर्दै उहाँले धर्मशालाहरूको सदुपयोग र प्रभावकारी व्यवस्थापन हुन नसकेको बताउनुभएको हो । उहाँका अनुसार तीर्थयात्री तथा भक्तजनलाई सेवा प्रदान गर्न निर्माण गरिएका धर्मशालाहरू अपेक्षित उद्देश्यअनुसार सञ्चालन हुन नसक्दा यसको मूल मर्म नै कमजोर बन्न पुगेको छ।
पौडेलले आफ्नो स्टाटसमा लेख्दै देवघाटजस्तो ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्थानमा रहेका धर्मशालाहरूको अवस्था सुधार गर्न स्थानीय सरकार तथा सम्बन्धित प्रशासनिक निकायले समयमै ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
“धर्मशालाहरू व्यापारिक केन्द्रका रूपमा प्रयोग हुनु हाम्रो धार्मिक परम्परा र संस्कृतिविपरीत कुरा हो,” उहाँले उल्लेख गर्नुभएको छ ।
त्यस्तै श्रदालु भक्तजन र तिर्थयात्री हरुको तिब्र गुनासो आएको बताउदै देवघाटको गरिमामा आच आउने काम स्विकार्य नहुने बताउनुभयो । उहाँले धर्मशालाका समितिहरुलाइ सचेत समेत गराउदै आउनुभएको छ । देशकै धार्मिक केन्द्रबिन्दुका रुपमा रहेको देवघाट क्षेत्रमा स्नान र दर्शनका लागि विश्व भरबाट तिर्थालु हरु आउने गरेका छन ।
धर्मशालाहरूलाई नाफामुखी गतिविधिभन्दा सेवा र धर्मसँग जोडिएको मूल उद्देश्यअनुसार सञ्चालन गर्नुपर्ने धारणा राख्नुभएको हो । साथै, तीर्थस्थलको गरिमा जोगाउन र आगन्तुकहरूलाई सहज आवास तथा सेवा उपलब्ध गराउन सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
देवघाट क्षेत्र धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा परिचित रहँदै आएको छ। यहाँ वर्षेनी हजारौँ तीर्थयात्रीहरू आउने गरेका छन्। यस्तो अवस्थामा धर्मशालाको व्यवस्थित सञ्चालनले धार्मिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले पनि देवघाटको समग्र व्यवस्थापन सुधारका लागि स्पष्ट नीति, अनुगमन र पारदर्शी सञ्चालन प्रणाली आवश्यक रहेको बताउँदै आएका छन्।
स्थानीय धार्मिक क्षेत्रसँग समन्वय गरी देवघाटको गरिमा जोगाउन सबै पक्षसँग सहकार्यको आह्वान गर्नुभएको छ । पौडेलले अनुगमन र नियमनको अधिकार पाएको देवघाट क्षेत्र विकास समितिको मौनतामाथि प्रश्न उठाउँदै धार्मिक क्षेत्रलाई व्यावसायिक अखडामा रूपान्तरण गर्न नहुने बताउनुभएको हो । साथै, समितिले धर्मशाला, मन्दिर र गुरुकुलहरूको अवस्था तथा व्यवस्थापनबारे स्पष्ट योजना तत्काल ल्याउनुपर्ने माग गरेका छन्।
पौडेलले धार्मिक क्षेत्रका वेथिती बारे चर्को आवाज उठाउदै आउनुभएको छ भने यस क्षेत्रको सनातनी आन्दोलनको नेतृत्व समेत हालसम्म गर्दै आउनुभएको छ ।
