प्रविधिको विकाससँगै परम्परागत पुख्र्यौली सीप हराउँदै गएको सन्दर्भमा तनहुँका भुजेल समुदायले भने आफ्नो परम्परागत हस्तकलालाई जीविकोपार्जनको मुख्य आधार बनाइरहेका छन्।
विशेषगरी आँबुखैरेनी गाउँपालिका क्षेत्रमा बसोबास गर्ने भुजेल समुदायका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म बाँसका सामग्री निर्माणमा दक्ष छन्। उनीहरूले नाङ्लो, डोको, डालो, थुम्से, कुच्चो, नाम्लोलगायतका सामग्री उत्पादन गरी बिक्री गर्दै आम्दानी गर्दै आएका छन्।
आँबुखैरेनी–२ एक्लेफाँटकी सावित्री भुजेलका अनुसार समुदायमा बाल्यकालदेखि नै सीप सिकाउने परम्परा छ। “हामीले सानैदेखि यो सीप सिकेका हुन्छौँ, नयाँ पुस्तालाई पनि सिकाउँदै आएका छौँ,” उहाँले भन्नुभयो। पुरुषहरू वैदेशिक रोजगारीमा गए पनि महिलाहरूले हस्तकलाबाटै आत्मनिर्भर बन्दै परिवार धानेका छन्।
त्यस्तै, आँबुखैरेनी–१ का इन्द्र भुजेलले सानैमा सिकेको सीपले अहिले पनि आम्दानी भइरहेको बताउँदै पहिलेको तुलनामा अहिले उत्पादनले उचित मूल्य पाउन थालेको उल्लेख गर्नुभयो। “पहिला आफैँ सामान बोकेर बेच्न जानुपर्थ्यो, अहिले भने व्यापारीहरू गाउँमै आइपुग्छन्,” उहाँले भन्नुभयो।
हाल बजारको पहुँच विस्तार र पर्यटन वृद्धि भएसँगै बाँसका सामग्रीको माग पनि बढ्दै गएको छ। उत्पादित सामग्री तनहुँसहित चितवन, काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवल, वीरगञ्जलगायतका स्थानमा बिक्रीका लागि पठाइने गरिएको छ।