चितवनको माडी नगरपालिकाले नगरक्षेत्रभित्र प्लाष्टिकबाट निर्मित विभिन्न सामग्रीको बिक्री–वितरण, आयात तथा भण्डारणमा कडाइ गरेको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्लाष्टिकजन्य वस्तुको प्रयोग र कारोबार नगर्न नगरवासी तथा व्यवसायीलाई आग्रह गरेको हो।
नगर कार्यपालिकाको निर्णयअनुसार प्लाष्टिकबाट निर्मित कप, गिलास, प्लेट, काँटा तथा प्लाष्टिकका फूल र बुकेजस्ता सामग्रीमा प्रतिबन्ध लगाइएको जनाएको छ। तर, प्रतिबन्धपछि पनि यस्ता सामग्रीको बिक्री–वितरण र भण्डारण भइरहेको पाइएकाले पुनः सचेत गराउन सूचना जारी गरिएको नगरपालिकाले उल्लेख गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल द्वारा जारी सूचनामा निर्णय विपरीत प्रतिबन्धित सामग्री बिक्री–वितरण, आयात वा भण्डारण गरेको पाइए कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
यस्तै, हाल मौज्दातमा रहेका प्रतिबन्धित सामग्री सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक व्यवस्थापन गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ।
