भरतपुरस्थित सामाजिक संस्था चेली नेपाल ले माडी–६ स्थित जनकल्याण माध्यमिक विद्यालय का ११ जना छात्रालाई लक्षित गर्दै छात्रवृत्ति तथा आर्थिक सशक्तीकरण कार्यक्रम सुरु गरेको छ ।
मानव बेचविखन तथा लैङ्गिक हिंसाको जोखिममा रहेका किशोरीहरूको शिक्षा निरन्तरता सुनिश्चित गर्ने उद्देश्यसहित विद्यालय, अभिभावक र संस्थाबीच त्रिपक्षीय सम्झौता गरिएको हो ।
सम्झौताअनुसार छात्राहरूलाई विद्यालय पोशाक, झोला, जुत्ता, कापी–कलमलगायत आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइनेछ । साथै उनीहरूका अभिभावकलाई साना व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोग समेत प्रदान गरिने संस्थाले जनाएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष शेरबहादुर सुवेदी (हरी)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी–६ का वडाध्यक्ष दिपेन्द्रराज पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा चेली नेपालका प्रतिनिधि प्रेम श्रेष्ठ र मिरा महतो, विद्यालयका प्रधानाध्यापक रामबहादुर जिसी तथा शिक्षक प्रतिनिधि पूर्णिमा पौडेललगायतको उपस्थिति रहेको थियो ।
