चितवनको माडीमा आयोजना हुन लागेको “माडी मौलिक संस्कृति उत्सव–२०८३” को तयारी तीव्र पारिएको छ ।
माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा माडी नगरपालिका को प्रवर्द्धनमा आगामी जेठ १५ गते बसन्तपुर बजारस्थित खुला चौरमा उत्सव हुने भएको हो ।
उत्सवबारे जानकारी दिन भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले माडीको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा र सामाजिक सद्भाव संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटा ले विभिन्न जातजाति र समुदायलाई एउटै मञ्चमा जोड्दै सांस्कृतिक गौरव मजबुत बनाउने उद्देश्य रहेको बताउनुभयो । कार्यक्रममा उप–नगर प्रमुख खेमप्रसाद महतो तथा प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल ले उत्सवले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उत्सवमा थारु समुदायका विभिन्न सांस्कृतिक प्रस्तुति, मगर, तामाङ, गुरुङ, चेपाङ, राई, दराईलगायत विभिन्न जनजातिका झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । साथै पञ्चेबाजा, सारङ्गी, लोकदोहोरी, मौलिक खाना पर्व तथा परम्परागत माछा र दुग्धजन्य परिकार पनि मुख्य आकर्षण रहने आयोजकले जनाएको छ ।
