नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल गणतन्त्र दिवसको अवसरमा चितवनस्थित कोटिहोम महायज्ञमा सहभागी भएका छन् । राजधानी काठमाडौंमा आयोजित गणतन्त्र दिवसको मुख्य समारोहमा सहभागिता जनाएलगत्तै प्रधानसेनापति सिग्देल महायज्ञ दर्शनका लागि चितवन आइपुगेका हुन् ।
भरतपुर महानगरपालिका–३ आँपटारीस्थित योगी नरहरिनाथ आश्रम मा जारी कोटिहोम महायज्ञस्थल पुगेर उनले धार्मिक अनुष्ठानको अवलोकन गर्नुका साथै महायज्ञको दर्शन गरेका थिए । महायज्ञस्थलमा उपस्थित भक्तजन तथा आयोजकसँग उनले भेटघाटसमेत गरेका थिए ।
महायज्ञ दर्शनपछि प्रधानसेनापति सिग्देलले नजिकै रहेको वागीश्वरी मन्दिर मा पुगेर विशेष पूजा–अर्चना गरेका थिए । पूजा सम्पन्न गरेपछि उनले केही समय मन्दिर परिसरमै ध्यानसमेत गरेका थिए । धार्मिक आस्था र आध्यात्मिक महत्व बोकेको स्थलमा प्रधानसेनापतिको उपस्थितिले महायज्ञलाई थप महत्व प्रदान गरेको स्थानीयवासीले बताएका छन् ।
गत वैशाख १७ गतेदेखि सञ्चालनमा रहेको कोटिहोम महायज्ञमा दैनिक रूपमा हजारौँ श्रद्धालु भक्तजनको सहभागिता हुँदै आएको छ । धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक जागरणको उद्देश्यसहित सञ्चालन भइरहेको महायज्ञ आगामी असार १३ गतेसम्म जारी रहने आयोजकले जनाएको छ ।
गणतन्त्र दिवसका दिन राष्ट्रको सुरक्षा नेतृत्व सम्हालिरहेका प्रधानसेनापति सिग्देलको महायज्ञ तथा मन्दिर दर्शनलाई धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र आध्यात्मिक मूल्यप्रतिको सम्मानका रूपमा हेरिएको छ ।
