माडी नगरपालिका–९ मा विपन्न नागरिकको जीवनस्तर सुधार तथा पूर्वाधार विकासका विभिन्न कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएको वडा अध्यक्ष घनश्याम दवाडीले बताउनुभएको छ।
पारदर्शी अनलाइनसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष दवाडीले गत वर्ष आर्थिक अभावका कारण विद्युत् मिटर जडान गर्न नसकेका विपन्न परिवारमध्ये ८२ घरमा मिटर जडान गरिएको जानकारी दिनुभयो। बाँकी रहेका विपन्न घरपरिवारमा पनि क्रमशः विद्युत् मिटर जडान गरिने उहाँले बताउनुभयो।
कृषकको आयआर्जन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकका लागि गणेशकुञ्जमा पार्क तथा विश्रामस्थल निर्माण गरिएको र कान्छी बगही, खरिकुना तथा सागबारी क्षेत्रमा पनि पार्क निर्माणको योजना अघि बढाइएको जानकारी दिनुभयो।
विद्यार्थीका लागि अध्ययनको वातावरण सहज बनाउन आवश्यक व्यवस्था गरिएको तथा वडामा खेलमैदान निर्माणलाई समेत प्राथमिकता दिइएको उहाँको भनाइ छ। साथै भित्री सडक क्षेत्रमा विद्युत् विस्तार र पोलमा बत्ती जडान गरी ‘उज्यालो वडा’ अभियानलाई निरन्तरता दिइएको दवाडीले बताउनुभयो।
अध्यक्ष दवाडीले वडावासीको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर विकास निर्माण तथा सामाजिक उत्थानका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
