नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले भरतपुर क्षेत्रमा नवनिर्मित ११ केभी क्षमताको भूमिगत केवल तथा ओभरहेड प्रसारण लाइन परीक्षण तथा सञ्चालनका लागि भोलि पहिलोपटक चार्ज (विद्युत प्रवाह) गर्न लागेको छ।
आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब–स्टेसनदेखि सुरु भई आँपटारी चोक, पोखरा बसपार्क, लिला चोक, पुलचोक, न्युरोड हुँदै नारायणी नदी किनारसम्मको क्षेत्रमा निर्माण सम्पन्न भएका ११ केभी भूमिगत तथा ओभरहेड प्रसारण लाइन भोलि बिहान ७ बजेदेखि चार्ज गर्न लागिएको हो।
विद्युत लाइन पहिलोपटक चार्ज गर्दा सुरक्षा जोखिम हुनसक्ने भएकाले आयोजनाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। उक्त रुटमा रहेका विद्युतीय पोल, ट्रान्सफर्मर, फिडर पिलर बक्स तथा अन्य कुनै पनि विद्युतीय उपकरण वा संरचनालाई नछुन र टाढै रहन आग्रह गरिएको छ ।
त्यसैगरी, भूमिगत केवल बिछ्याइएको रुटमा पैदल यात्रा वा सवारी साधन आवतजावत गर्दा उच्च सतर्कता अपनाउन भनिएको छ ।
बालबालिकाहरूलाई विद्युतीय संरचनाको नजिक जान वा खेल्न नदिन अभिभावकहरुलाई सचेत गराइएको छ । उक्त रुटमा अनुमतिविना कुनै पनि प्रकारको उत्खनन् गर्ने, खाल्डो खन्ने वा तार काट्ने जस्ता कार्यहरू पूर्ण रूपमा नगर्न-नगराउन आयोजनाले भनेको छ ।
आयोजना प्रमुख सुवेदीले परीक्षणका क्रममा कुनै अप्रिय घटना हुन नदिन सर्वसाधारण, स्थानीय बासिन्दा तथा सर्वपक्षीय सहयोगको अपेक्षा गरिएको बताएका छन् ।
