चितवनको चनौलीदेखि माडीसम्मको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो र दीर्घकालीन बनाउन चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब ८ किलोमिटर भूमिगत विद्युत् केबल बिछ्याउने काम अघि बढाइने भएको छ।
हाल सञ्चालनमा रहेको विद्युत् केबल कमजोर हुँदा माडी क्षेत्रमा पटक–पटक विद्युत् लाइन अवरुद्ध हुने समस्या देखिँदै आएको छ। यसको दीर्घकालीन समाधानका लागि २५ मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमताको नयाँ डिजाइनको ६४० स्क्वायर मिलिमिटर केबल भूमिगत रूपमा बिछ्याउन लागिएको हो।
नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख जितेन्द्र झाले चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडक क्षेत्रमा भूमिगत केबल बिछ्याउने काम अघि बढ्न लागेको जानकारी दिनुभयो।
उहाँका अनुसार उक्त कामका लागि विसान जेभीसँग २०८३ साल वैशाख ७ गते सम्झौता भएको छ। सम्झौताअनुसार १७ करोड ८६ लाख रुपैयाँको लागतमा नौ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नयाँ भूमिगत केबल सञ्चालनमा आएपछि चनौलीदेखि माडीसम्मको विद्युत् आपूर्ति प्रणाली थप सुरक्षित, व्यवस्थित र भरपर्दो हुने अपेक्षा गरिएको छ। विशेषगरी माडी क्षेत्रमा बारम्बार ‘फल्ट’ भएर विद्युत् सेवा अवरुद्ध हुने समस्या न्यूनीकरण हुने विश्वास गरिएको छ।
