सडक विभागले नागढुंगा सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि खुला गर्ने जनाएको छ । हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको विभागले जनाएको छ ।
सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई.शुभराज न्यौपानेका अनुसार सुरुङमार्ग सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको छ ।
‘अहिले सुरुङमार्ग आकस्मिक सवारीसाधनका लागि मात्र सञ्चालनमा छ । अब सबैका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण हुँदैछ,’ न्यौपानेले भने ।
उनका अनुसार सुरुङभित्र कुनै आपतकालीन अवस्था सिर्जना भएमा यात्रुको उद्धार कसरी गर्ने भन्ने विषयमा सुरक्षा परीक्षण गरिनेछ । विशेषगरी बसमा ठूलो संख्यामा यात्रु सवार रहेका बेला आगलागी भएमा उनीहरूको उद्धार कसरी गर्ने भन्ने अभ्यास परीक्षणको मुख्य विषय रहेको उनले बताए ।
सुरुङमार्गमा अहिले ब्यारिकेड तथा ड्रम राखिएका तस्बिरहरू सार्वजनिक भइरहेका छन् । ती सामग्री सुरक्षा परीक्षण तथा तयारीका क्रममा राखिएको प्रवक्ता न्यौपानेको भनाइ छ ।
उनले भने, ‘अहिले ब्यारिकेड ड्रमहरु लगाएको छ, त्यही भएर फोटोहरु पनि सामाजिक संजालमा आइरहेका छन् । यसमा के बुझिदिनुपर्यो भने इमर्जेन्सी भेहिकलहरुको लागि मात्र मुभमेन्ट छाडेका छौँ । अन्तिम क्लोजिङका लागि एउटा सेफ्टी टेस्ट हुन्छ ।
भित्र आगो लागिहाल्यो भने कसरी उद्धार गर्ने भन्ने विषयमा परीक्षण गरिरहेका छौं । उदाहरणका लागि ५० जना मान्छे चढेको बसमा आगो लाग्यो भने कसरी रेस्क्यु गर्ने भन्ने विषयमा अध्ययन गरिरहेका छौं । एयरपोर्टमा कहिलेकाहीँ देखाउँछ नि इमर्जेन्सी टेस्टहरु त्यस्तै सुरुङ मार्गमा पनि गर्नुपर्नेछ ।
त्यो एउटा टेस्ट बाँकी रहेकाले सबैलाई खुला नगरिएको हो । त्यो टेस्ट हुने बित्तिकै सबैको लागि ओपन हुन्छ । त्यहाँ हाल राखिएका सामग्री सुरक्षा परीक्षण तथा तयारीका लागि राखिएको हो ।’
अन्तिम सुरक्षा परीक्षण सम्पन्न भएपछि सुरुङमार्ग सबैका लागि खुला गरिने र त्यसका लागि साउन महिनाभित्रैको समयसीमा राखिएको प्रवक्ता न्यौपानेले बताए ।
