गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले माडीको बसन्तपुरमा ‘गंगा’ डेरी मार्ट सञ्चालनमा ल्याएको छ। मार्टसँगै सहकारीले माडीका किसानबाट दूध संकलनसमेत सुरु गरेको छ।
Advertisement
सोमबार माडी नगरप्रमुख ताराकुमारी काजी महतोले रिबन काटेर तथा क्यानबाट दूध खन्याएर मार्टको उद्घाटन गर्नुभयो। पहिलो किसानका रूपमा नारायणदत्त लामिछानेले दूध खन्याउँदै संकलनको सुरुवात गर्नुभयो।
वि.सं. २०४९ सालमा स्थापना भएको सहकारीमा ५ सयभन्दा बढी किसान आबद्ध छन्। सहकारीले दैनिक ६ हजार लिटरभन्दा बढी दूध संकलन तथा प्रशोधन गर्दै ‘गंगा’ ब्रान्डका दूध, दही, मोही, घिउ, पनिर, बटर, छुर्पीलगायतका उत्पादन बजारमा पठाउँदै आएको छ।
बसन्तपुरमा डेरी मार्ट खुलेसँगै माडीका उपभोक्ताले गंगा ब्रान्डका उत्पादन स्थानीय बजारमै पाउने भएका छन् भने स्थानीय किसानले दूध बिक्रीका लागि थप बजारसमेत पाएका छन्।
