श्री गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले भरतपुर महानगरपालिका–१०, ज्ञान दर्शन चोकमा ‘गंगा सहकारी डेरी मार्ट’ सञ्चालनमा ल्याएको छ।
सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष परमेश्वर खनाल प्रमुख अतिथि रहनुभएको थियो।
भरतपुर–२२, धनौजीमा रहेको सहकारीले आफ्नै ‘गंगा’ ब्रान्डका दूध तथा दुग्धजन्य उत्पादनलाई उपभोक्तामाझ सहज रूपमा पुर्याउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याएको हो। मार्टमा दूध, दही, घ्यू, पनिर, मोहीलगायतका दुग्धजन्य सामग्रीसँगै अन्य खाद्य वस्तुसमेत उपलब्ध हुने जनाइएको छ।
वि.सं. २०४९ सालमा स्थापना भएको सहकारीमा ५ सयभन्दा बढी किसान आबद्ध छन्। सहकारीले दैनिक ६ हजार लिटरभन्दा बढी दूध संकलन गरी ‘गंगा’ ब्रान्डमा उत्पादन तथा बजारीकरण गर्दै आएको छ।
डेरी मार्ट विस्तारसँगै स्थानीय किसानका उत्पादनको बजार विस्तार हुनुका साथै उपभोक्ताले गुणस्तरीय दुग्धजन्य वस्तु सहज रूपमा पाउने अपेक्षा गरिएको छ। सहकारीले यसअघि माडीको बसन्तपुरमा समेत ‘गंगा डेरी मार्ट’ सञ्चालनमा ल्याइसकेको छ।
