तनहुँ । गाउँको मौलिक स्वाद, स्थानीय उत्पादन र ग्रामीण पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित तनहुँको बन्दीपुरमा ‘सि.जी. अर्गानिक भान्सा घर’ सञ्चालनमा आएको छ।
बन्दीपुर गाउँपालिका–६, खहरे/झाबर्दीमा रहेको बाउबाजेको रैथाने एग्रो फार्म हाउस तथा सि.जी. अर्गानिक भान्सा घरले स्थानीय कृषि उत्पादनलाई प्राथमिकतामा राख्दै परम्परागत तथा रैथाने स्वादलाई पर्यटक र पाहुनामाझ पुर्याउने प्रयास गरेको हो।
भान्सा घरमा स्थानीयस्तरमा उत्पादन हुने खाद्य सामग्री प्रयोग गरी विभिन्न मौलिक परिकार तयार गरिन्छ। अर्गानिक खानासँगै सेती नदीको माछा, लोकल सुंगुर, कालिज, लोकल कुखुरा र हाँस लगायतका परिकार यहाँको मुख्य आकर्षणका रूपमा रहेका छन्।
त्यस्तै, स्थानीय क्षेत्रमा उत्पादन हुने लिची, कागती, एभोकाडो, जुनार, सुन्तला, निबुवा र आँप लगायतका फलफूलसमेत उपलब्ध हुने सञ्चालक सिद्धान्त गर्जामगरले जानकारी दिनुभयो।
उहाँका अनुसार स्थानीय उत्पादनलाई स्थानीय स्तरमै खपत गराउने र किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसँग जोड्ने उद्देश्यले फार्म हाउस तथा भान्सा घर सञ्चालन गरिएको हो। “स्थानीय उत्पादनको प्रयोग बढाउने, किसानलाई बजारको सुनिश्चितता दिलाउने र पाहुनालाई गाउँको वास्तविक स्वाद चखाउने हाम्रो मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो।
बन्दीपुर प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाग्रामीण जीवनशैली र मौलिक खानपानका कारण पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। यही पर्यटनको सम्भावनालाई स्थानीय कृषि उत्पादनसँग जोड्दै सि.जी. अर्गानिक भान्सा घरले ‘बारीदेखि भान्सासम्म’को अवधारणालाई अघि बढाएको हो।
फार्म हाउसमा उत्पादन हुने तथा स्थानीय किसानबाट प्राप्त हुने कृषि उपजलाई भान्सामा प्रयोग गर्दा एकातर्फ ताजा र मौलिक खाना उपलब्ध हुने र अर्कोतर्फ स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने सञ्चालकको विश्वास छ।
स्थानीय स्वाद, स्थानीय उत्पादन र स्थानीय रोजगारीलाई प्राथमिकतामा राखिएको यस प्रकारको पहलले ग्रामीण पर्यटन प्रवर्द्धनसँगै किसानको आयआर्जन बढाउन, रैथाने परिकारको संरक्षण गर्न तथा गाउँमै रोजगारी सिर्जना गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।
सि.जी. अर्गानिक भान्सा घरका व्यवस्थापक जितबहादुर थापाले बन्दीपुर घुम्न आउने पर्यटकलाई मौलिक गाउँले वातावरणसँगै स्थानीय खानाको स्वाद प्रदान गर्ने गरी सेवा विस्तारमा ध्यान दिइएको बताउनुभयो। उहाँका अनुसार पाहुनालाई केवल खाना खुवाउनेभन्दा पनि स्थानीय संस्कृति, उत्पादन र खानपानको अनुभव दिलाउने प्रयास भइरहेको छ।
पछिल्लो समय बन्दीपुरमा कृषि र पर्यटनलाई जोडेर विभिन्न फार्म हाउस तथा ग्रामीण आतिथ्य सेवाहरू विस्तार भइरहेका छन्। यस्तो अवस्थामा बाउबाजेको रैथाने एग्रो फार्म हाउस तथा सि.जी. अर्गानिक भान्सा घरले स्थानीय उत्पादनको प्रवर्द्धन र मौलिक खानाको संरक्षणमार्फत बन्दीपुरको ग्रामीण पर्यटनलाई थप बलियो बनाउन खोजेको छ।
बन्दीपुर–६, खहरे/झाबर्दीमा रहेको सि.जी. अर्गानिक भान्सा घरमा पुग्ने पर्यटक तथा पाहुनाले स्थानीय उत्पादनबाट तयार पारिएका मौलिक परिकारसँगै बन्दीपुरको ग्रामीण वातावरणको स्वाद लिन सक्नेछन्।
