भरतपुर महानगरपालिका–१० स्थित ऐतिहासिक गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ र ‘भरतपुर समन्वय पार्क’ निर्माण हुने भएको छ।
Advertisement
जिल्ला समन्वय समिति चितवनले उपलब्ध गराएको जग्गामध्ये एक बिघा १६ कठ्ठा १४ धुरमा सहिद मैदान र एक बिघा नौ धुरमा समन्वय पार्क निर्माण गर्न लागिएको हो।
सहिद मैदानका लागि महानगरपालिकाले रु एक करोड ५० लाख र पार्कका लागि रु एक करोड बजेट विनियोजन गरेको छ। मैदानमा मञ्च, प्रवेशद्वार, घेराबार, ढल निकास, फुटपाथ, हरित क्षेत्र तथा स्मार्ट शौचालय निर्माण गरिनेछ।
समन्वय पार्कलाई ज्येष्ठ नागरिक, बालबालिका तथा सर्वसाधारणका लागि मनोरञ्जन र पर्यटकीयस्थलका रूपमा विकास गरिनेछ।
आगामी माघ १६ गते सहिद दिवसका अवसरमा सहिद मैदानको शुभारम्भ गर्ने महानगरको लक्ष्य छ।
