विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका परिवारको पीडामा मलम लगाउने प्रयासस्वरूप नेपाल कपास उद्योग महासंघ नेपालले राहत सामग्री वितरण गरेको छ।
महासंघकी अध्यक्ष चन्दना कोइराला पौडेलको नेतृत्वमा पुगेको टोलीले रसुवाको उत्तरगया गाउँपालिका तथा नुवाकोटको विदुर नगरपालिका–१, ढुङ्गे बजारका करिब ५५ बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको हो।
बाढीले घर, व्यवसाय र दैनिक जीवन प्रभावित भएका परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै महासंघले सिरक, डसना, तन्ना, सिरानी र चामललगायतका सामग्री उपलब्ध गराएको जनाएको छ।
महासंघका महासचिव एवम् सनातन कर्मी श्याम पौडेलको संयोजनमा गएको टोलीले राहत वितरणसँगै बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनसमेत गरेको थियो। टोलीले पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था, समस्या र तत्काल आवश्यकताबारे छलफल तथा परामर्श गरेको महासंघले जनाएको छ।
राहत वितरणपछि महासंघकी अध्यक्ष पौडेलले विपद्को घडीमा पीडित नागरिकको साथमा उभिनु मानवीय दायित्वसँगै संस्थागत सामाजिक उत्तरदायित्व भएको बताइन्।
‘विपद्ले प्रभावित परिवारलाई हाम्रो सानो सहयोगले पनि कठिन समयमा ठूलो अर्थ राख्न सक्छ। पीडामा परेका नागरिकलाई एक्लो महसुस हुन नदिन र आवश्यकताअनुसार सहयोग पुर्याउन हामी यहाँ आएका हौँ,’ पौडेलले भनिन्।
बाढीपछि प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक सामग्रीको अभाव देखिएका बेला महासंघले प्रत्यक्ष रूपमा पीडित परिवारसम्म पुगेर राहत वितरण गरेको हो।
महासंघले विपद् व्यवस्थापन र प्रभावित नागरिकको पुनःस्थापनाका लागि सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र नागरिकस्तरबाट समन्वित प्रयास आवश्यक रहेको जनाएको छ। तत्कालीन राहतसँगै बाढीबाट विस्थापित तथा प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापना, जीविकोपार्जन र सुरक्षित बसोबासका विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने महासंघको भनाइ छ।
स्थलगत अवलोकनका क्रममा पीडित परिवारले बाढीपछि आफूहरूले भोग्नुपरेका समस्या र आवश्यकताबारे टोलीलाई जानकारी गराएका थिए। महासंघको टोलीले उनीहरूको अवस्था नजिकबाट बुझेपछि राहत वितरणलाई केवल सामग्री हस्तान्तरणमा सीमित नराखी पीडितको वास्तविक आवश्यकता बुझ्ने प्रयाससमेत गरेको जनाएको छ।
बाढीले दिएको चोट गहिरो छ। घर–आँगनदेखि दैनिकीसम्म अस्तव्यस्त भएका परिवारका लागि यस्तो सहयोग तत्कालको आवश्यकता पूरा गर्ने माध्यम मात्र होइन, विपद्को समयमा आफूहरू एक्लो नभएको अनुभूति दिलाउने मानवीय भरोसा पनि हो।
महासंघले आगामी दिनमा पनि आवश्यकता र स्रोतअनुसार विपद् प्रभावित नागरिकका पक्षमा सहयोग तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
