नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सरकारबाट दमन नगर्नु भन्दाभन्दै गोली घुसपैठ गरेर गोली चलाइएको बताउनुभएको छ ।
पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले गत वर्ष कत्लेआम नरहत्याको योजना रचना गरिएको बताउनु भयो । २३ गते अनावश्यक ढंगले नवयुवाहरुको र अरु युवाहरुको हत्याको काण्ड गराउने काम योजनावद्ध रहेको जिकिर गर्नुभयो ।
त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रुपमा लुटपाट, हिंसा, आतंक, अराजकता फिजाइएको बताउनु भयो । काँक्रा आफूले खाएर बियाँ आफूहरुको मुखमा लगाइदिने षड्यन्त्र गरेको बताउनु भयो । आन्दोलनमा आफूहरुले गोली नचलाउन र दमन नगर्न भनेको भएपनि कसरी गोली चल्यो भन्नेकुरा षड्यन्त्रपूर्ण रहेको बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले विभिन्न प्रकारका अन्तर्राष्ट्रिय खोज, अध्ययन, अनुसन्धानवाला विभिन्न रिपोर्टहरुले पनि देखाएका छन् । सामाजिक सञ्जालहरुले देख्याएका छन्, सञ्चार माध्यमहरुले देखाएका छन् । त्यसकारण यसमा मैले धेरै केही भन्नुपर्दैन जस्तो लाग्दछ ।
गत वर्ष एउटा आम कत्लेआम, नरहत्याको योजना रचना गरियो । रचना गरेकै हो यो योजना । त्यस योजना अन्तर्गत २३ गते अनावश्यक ढंगले नवयुवाहरुको र अरु युवाहरुको हत्याको काण्ड घटाउने काम भयो योजनावद्ध ढंगले, षड्यन्त्रपूर्ण ढंगले । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रुपमा लुटपाट, हिंसा, आतंक, अराजकता फिजाउनुथियो, त्यो फिजाइयो, २४ गते ।
अनि काँक्रा उनीहरुले चोरेर खाए, बियाँ हाम्रो गालामा ल्याएर टाँसे । केही हामीले भनेका हौँ, हाम्रो गालामा बियाँ टाँस्न ल्याउनुपर्दैन । यो षड्यन्त्र हामीले पनि बुझेका छौँ, नेपाली जनताले बुझेको छ । अझ हामी बुझाउँदै लानेछौँ । केहीले बुझेको नबुझ्यै गर्ने बुझ पचाउने, केही तत्वहरु त भन्छन्, यो बाहिरको कुनै हात होइन, यो भूराजनीतिको कुनै अर्थ छैन यहाँ ।
हामीले बिगारेको हो, हाम्रो नेतृत्वले बिगारेको हो आदि इत्यादि यस्ता खालका कुराहरु गर्नेहरु पनि छन् । उतैबाट छापेका छन्, खोज अध्ययन गरेर उतैको संलग्नता, वाह्य संलग्नता उतैबाट छर्लङ्ग छ । उतैबाट भण्डाफोर गर्छन्, यहाँकाहरु त्यसको डिफेन्ड गर्न जान्छन् । होइन, होइन, त्यो हाम्रै, हाम्रै भित्रको कुरा हो ।
गोलि किन चलाएको त हाम्रै भित्रको हो भने ? हामीले त चलाएनौँ, नचलाउनु भनेको थियो । प्रधानमन्त्री म थिएँ, मैले नचलाउनु, दमन नगर्नु भनेको थिएँ । दमन भयो किन ? दमन हुनुभन्दा अगाडि तोडफोड हुनुभन्दा अगाडि आगजनी हुनुभन्दा अगाडि फोरकास्ट हुँदै गए । सिंहदरबार जलाउने कुरा यो ८२ भदौ २४ गते सिंहदरबार जलाउने कुरा त्यसै दिन चलेको रु उसै दिनको आक्रोश, आवेश, उत्तेजना मात्रै होइन, अगाडिदेखि चलेको थियो ।
हाम्रा घरहरु जलाइएका तस्बिरहरु अगाडिदेखि देखाइएका थिए । सिंहदरबार जलाएको तस्बिर अगाडिदेखि देखाइएको थियो । संसद भवन जलाइएका तस्बिर अगाडिदेखि देखाइएका थिए । त्यसर्थ यो वास्तवमा नेपाललाई अराजकताको भुमरीमा राखेर आफ्ना प्यादाहरुको कथित सरकार जडान गरेर आफ्ना स्वार्थहरु पूरा गर्ने षड्यन्त्रहरु यी कुराहरु भएका हुन् ।
