माडी नगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण शैक्षिक संस्था असोज ९ गते एक दिनका लागि बन्द हुने भएका छन्।
नगरपालिकाले पछिल्लो समय वर्षाको गतिविधि बढिरहेको र नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
आकस्मिक बाढी, पहिरो, डुबान तथा सडक यातायात प्रभावित हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै विद्यार्थी तथा विद्यालयमा आवतजावत गर्ने सबैको सुरक्षाका लागि एक दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै विद्यार्थी, बालबालिका, शिक्षक तथा अभिभावकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदी, खोला, पोखरी तथा पहिरो प्रभावित क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र जोखिमयुक्त स्थानबाट सुरक्षित रहन नगरपालिकाले अनुरोध गरेको छ।
सम्भावित प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन तथा स्थानीय स्तरमा देखिने जोखिमबारे सम्बन्धित निकायलाई तत्काल जानकारी गराउनसमेत नगरपालिकाले सबैमा आग्रह गरेको छ।
#PRD0830608
