चितवनको माडी नगरपालिकाले वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना तथा स्थानीय किसानले उत्पादन गरेका प्राकृतिक फूलको बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले प्लास्टिकजन्य कृत्रिम फूलमाला तथा सजावटका सामग्रीको बिक्री, वितरण, आयात र भण्डारणमा प्रतिबन्ध लगाएको छ।
माडी नगरपालिकाको २०८३ असोज ३० गते बसेको ६७औँ कार्यपालिका बैठकको निर्णयअनुसार नगरक्षेत्रभित्र प्लास्टिकजन्य कृत्रिम फूल, माला तथा सजावटका सामग्रीको ओसारपसार, भण्डारण, बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाइएको हो।
नगरपालिकाले उक्त निर्णय तत्काल लागू हुने गरी सार्वजनिक सूचना जारी गरेको छ।
नगरपालिकाका अनुसार वातावरण संरक्षण ऐन, २०७६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपाल सरकारको प्रचलित नीतिअनुरूप वातावरणीय प्रदूषण नियन्त्रण र जैविक विविधताको संरक्षणका लागि यस्तो निर्णय गरिएको हो।
प्लास्टिकका कृत्रिम फूलमालाको प्रयोगले वातावरणमा प्रदूषण बढाउने तथा स्थानीय स्तरमा व्यावसायिक रूपमा फूलखेती गरिरहेका किसानको उत्पादनले उचित बजार नपाउने अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाले प्रतिबन्धको निर्णय गरेको जनाएको छ।
यस निर्णयले माडीमा व्यावसायिक फूलखेती गर्दै आएका स्थानीय किसानलाई प्रोत्साहन मिल्नुका साथै उनीहरूले उत्पादन गरेका सयपत्री, मखमलीलगायत प्राकृतिक फूलको बजारीकरण सहज हुने अपेक्षा गरिएको छ। प्राकृतिक फूलको प्रयोग बढ्दा स्थानीय उत्पादनको खपत वृद्धि हुनुका साथै किसानको आम्दानी बढाउनसमेत सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ।
