सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित गर्ने र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ ।
नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा तीनदिने एक्स्पो सञ्चालन हुन लागेको हो ।
आयोजकका अनुसार घरजग्गा कारोबारमा आएको मन्दी, लगानीको अभाव तथा युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेका बेला स्वदेशमै लगानी र उद्यमशीलताको वातावरण निर्माण गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको छ ।
नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष एवं एक्स्पोका संयोजक बाबुराम अधिकारीले घरजग्गा तथा निर्माण क्षेत्रमा देखिएको सुस्ततालाई अन्त्य गर्दै यस क्षेत्रलाई नयाँ गति दिन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले घरजग्गा तथा निर्माण क्षेत्र देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा आएको मन्दीले उद्योगी, व्यवसायी, निर्माण कम्पनी, श्रमिकदेखि सर्वसाधारणसम्म प्रभावित भएको बताए ।
आधुनिक निर्माण प्रविधिबारे जानकारी दिने, स्वदेशी लगानीको वातावरण बनाउने र व्यवसायी तथा उपभोक्तालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ ।
त्यस्तै, नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णु घिमिरेले एक्स्पोले घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः लयमा फर्काउन, आधुनिक निर्माण प्रविधिको प्रवद्र्धन गर्न र सुरक्षित तथा गुणस्तरीय आवास निर्माणबारे उपभोक्तालाई जानकारी दिन सहयोग पुग्ने बताए ।
