नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
मङ्गलबार राति करिब ९ बजे पूर्व–पश्चिम राजमार्गमा डण्डाबाट सर्दीतर्फ जाँदै गरेको लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्र्याक्टर एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–४ सर्दी निवासी ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको हो। टाउकोमा चोट लागेका उनको उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १३ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेमध्ये रविन चौधरी, रिजन चौधरी, विशाल राना, श्याम चौधरी, गुल्सन थापा र युवराज चौधरीलाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको थियो।
त्यस्तै, अश्विन चौधरी र निर्मल चौधरीको अवस्था गम्भीर रहेको जनाइएको छ। अन्य घाइतेको अवस्था सामान्य तथा मध्यम रहेको र केही उपचारपछि डिस्चार्ज भएका छन्।
प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार तथा उपचारको व्यवस्था गरेको थियो। दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
