चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड (चिस्कून)ले चितवनमा दोस्रो साकोस समिट २०८१ संचालन गर्ने भएको छ । आउँदो जेष्ठ २५ र २६ गते गरी दुईदिवसिय समिटमा झन्डै १२ लाख १ हजार १ सय ५० रुपैयाँ खर्च लाग्ने सहकारीले अनुमान गरेको छ ।
चिस्कूनले बिगत २८ बर्षदेखि बचत तथा ऋण सहकारी अभियान मार्फत समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनस्तर उकास्न क्रियाशिल छाता संगठनको रूपमा रहेको छ । तत्कालीन शारदानगरमा २०१३ साल चैत २० गते बखान सहकारीको रूपमा दर्ता भइ फराकिलो छाता संघको रूपमा परिचीत हुँदै आएको छ । प्रारम्भमा ९ वटा संस्थाहरुमा प्रति संस्था रु. एक हजारका दरले ९ हजार शेयर पुजी र मासिक रु १०० रुपैयाँ बचत गर्ने उदेश्यका साथ संस्था स्थापना गरिएको थियो । “सहकारी सुशासन र एकरुपताका लागि एक्यवद्धता” भन्ने नाराका साथ साकोस समिटले सहकारी क्षेत्रको विद्यमान समस्यालाई हल गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ । यसैगरी सहकारीका लागि सदस्य सक्रियतामा प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली लागू गराउने, नविनतम प्रविधिक प्रयोग गर्ने, सहकारी पीडितका मागहरू संवोधन गराउने जस्ता उदेश्यका साथ चिस्कूनले दुईदिवसीय सहकारी समिट मनाउन लागेको सहकारीका सचिव सुदिप रेग्मीले जानकारी दिनुभयो ।
६ वटा सहयोगी संस्थाहरुको आयोजना र ३५ वटा संस्थाहरुको सहआयोजनामा कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा झन्डै ४०० जना शेयर सदस्यहरुको सहभागीता रहने आयोजकले अपेक्षा लिएको छ । यसअघि संघले ४१ वटा कार्यबिधि निर्माण गराएर जिल्लाका विभिन्न स्थानीय निकायमा दर्ता भएका साकोसहरुलाई एकीकृत गर्दै छाता संघको रूपमा सञ्जाल बिस्तार गर्दै आइरहेको छ ।