चितवन, श्रावण ०१
भरतपुर महानगरले बर्षातको समयमा हुनसक्ने सम्भावित जोखिमलाई मध्येनजर गर्दै विपत व्यवस्थापनको सम्पुर्ण तयारी पूरा गराएको जनाएको छ ।
नारायणी नदीको व्यवस्थापनसंगै नदी किनारका बस्तीहरुमा उच्च सतर्कता अपनाइएको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिनुभयो ।
पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै उपमेयर अधिकारीले बर्षातको समयमा भइपरि आउने प्राकृतिक बिपत्तिका लागि झन्डै एक करोड भन्दाबढीको बजेट बिनियोजन गरिएको बताउनुभएको हो । यसैगरी उहाँले भरतपुर महानगरपालिकाको नारायणी नदीसँग जोडिएका तटिय क्षेत्रमा जनस्तरबाट निगरानी बढाउन समेत पहल थालिएको जानकारी दिनुभयो ।
महानगरले पहिलो प्राथमिकतामा नारायणी नदीको तटबन्धन र व्यवस्थापनलाई जोड दिएको उल्लेख गर्दै अधिकारीले तटबन्धन गर्न बाँकी रहेका केही छिटपुट क्षेत्रमा भने बाढीको असर कायमै रहेको बताउनुभयो । त्यस्ता केही क्षेत्रहरुमा आउँदो आर्थिक बर्ष भित्रमा नदी तटबन्धनको काम सम्पन्न गर्नेगरी मोटो रकम निकासा गरिएको समेत अधिकारीको भनाइ छ ।
यसैगरी भरतपुर २९ स्थित सिमलतालको पहिरोमा परि बेपत्ता भएकाहरुको खोजीमा समेत महानगरले तदारुकता देखाएको जानकारी दिनुभयो । यसैगरी उहाँले घटना घटेको दिनदेखि आवश्यक यन्त्र, उपकरणको व्यवस्था समेत महानगरले गरिरहेको प्रष्ट पार्नुभयो ।