गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि सम्बोधन गर्दै उहाँले संविधान र कानुनमा लेखेको कुरा आफै कार्यान्वयन हुँदैन भन्नुभयो । “संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ ” गृहमन्त्री लेखकले भन्नुभयो,“ती आफै परिचालित र क्रियाशील हुने होइनन् ।” उहाँले लोकतन्त्रको आधारभूत मान्यता भनेको विधिको शासन भएको बताउनुभयो ।
“लोकतन्त्र कुनै अमूर्त विषय होइन ” उहाँले भन्नुभयो,“नेताहरुले भाषण गर्ने र नागरिकले भाषण सुन्ने विषय मात्रै पनि होइन, लोकतन्त्रको आधारभूत मान्यता हुन्छन्, विधिको शासनपनि एउटा मान्यता हो ।” निष्पक्षता, पारदर्शीता र व्यवसायिकतामा कमी हुन नदिन निर्देशनसमेत उहाँले दिनुभयो ।
“उच्च मनोबलका साथ काम गर्नुहोला, प्रहरीको मनोबल उच्च राख्नको लागि र मनोबल उच्च रहिरनका लागि प्रेरणादायी काम गर्न मन्त्रालयले गर्नेछ ” गृहमन्त्री लेखकले भन्नुभयो, “ हामी त्यसमा प्रतिबद्ध छौँं ।” गृह प्रशासन आफ्ना लागि नयाँ अनुभव भए पनि संसद्मा कानुन र संविधान निर्माणको क्षेत्रमा काम गर्ने अवसर लामो समयदेखि पाएको उहाँको भनाइ थियो ।