जय सनातन अभियान नेपालको आयोजना र विश्व हिन्दु महासंघ चितवनको सहकार्यमा आज एक कार्यक्रमकाबीच खिर खुवाइएको छ ।
विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेम प्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा श्री १००८ स्वामी जगन्नाथचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
भरतपुर १० स्थित हाकिम चोकमा अबस्थित मालिका मन्दिरमा भएको खिर खाने कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्नुहुँदै स्वामी जगन्नाथचार्यले साउन १५ गते आज नेपाली समाजमा खिर खाने परम्पराको आफ्नै ठूलो धार्मिक मान्यता रहेको बताउनुभयो ।
वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा रहिआएको उहाँको भनाइ छ ।
साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास समेत गरिएको स्वामी जगन्नाथचार्यले बताउनुभयो ।
संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमापनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेम प्रसाद गैरेले जानकारी दिनुभयो ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिर लगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने गैरेले बताउनुभयो ।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् ।
विश्व हिन्दु युवासंघ चितवन र जयसनातन अभियानका अध्यक्ष श्याम पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित विभिन्न राजनीतिक दलका नेता, टोलका प्रतिनिधि तथा धार्मिक व्यक्तित्व र सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।