साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न सुरु गरेको छ ।
परम्परागत रूपमा ‘म्यानुअल’ प्रणालीमा प्रदान गर्दै आएको यो गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसलाई हटाएर अनलाइन प्रणालीमार्फत सुरु गरेको हो ।
गृह मन्त्रालयअन्तर्गतको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यो सेवा सुरु गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिनुभयो । “अबदेखि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर निवेदन दिएपछि वडा कार्यालयले सो विवरण अनलाइन प्रणालीमा प्रविष्ट गरेर सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नेछ ।
यसरी प्रमाणित भएको कागजात अनलाइनमा प्रविष्ट हुन्छ । जसका आधारमा जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता प्रमाणपत्र प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराइनेछ”, उहाँले भन्नुभयो ।
अनलाइन प्रणालीले नागरिकता सिफारिस र वितरण प्रक्रियामा पारदर्शिता, एकरुपता र समय बचत हुने भएकाले अनिवार्य रूपमा अनलाइन प्रणाली लागू गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताउनुभयो । यो प्रणाली लागू भएपछि गाउँपालिकाको प्रशासनिक कामकाजमा ‘डिजिटलीकरण’को थप अध्याय सुरु भएको र गाउँपालिकालाई ‘डिजिटलाइज गाउँपालिका’ बनाउने कार्यमा एक इँटा थपिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।

