राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले आज राष्ट्रपति भवन, शीतलनिवासमा बिदाइ भेट गरेका छन्।
आफ्नो कार्यकाल सकिन लागेकै अवसरमा भएको उक्त भेटमा नेपाल–साउदी अरब सम्बन्धका विभिन्न पक्ष तथा आपसी हितका विषयमा विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
भेटका क्रममा राष्ट्रपति पौडेलले राजदूत अबुहमिदलाई नेपालस्थित कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गर्दै उहाँले गरेको भूमिकाको प्रशंसा गर्नुभयो।
उहाँले नेपाल र साउदी अरबबीचको दीर्घकालीन मित्रता, आपसी सहयोग तथा श्रम–रोजगारी, विकास साझेदारीजस्ता क्षेत्रमा अझ सुदृढ सम्बन्धको आकांक्षा व्यक्त गर्नुभयो।
राजदूत अबुहमिदले पनि नेपालमा कार्य गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै दुवै देशबीचको सहयोग आगामी दिनमा अझ प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको थियो।
बिदाइ भेट मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

