बोस्टन इन्टरनेशनल कलेजले आगामी मङ्सिर १२–१३ (28–29 November 2025) मा “Driving Sustainability: Business, Innovation, and Governance in Action (BICIC-DSBIGA 2025)” शीर्षकमा पहिलो BIC अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।
दिगोपनालाई व्यापार, नवप्रवर्तन र सुशासनसँग जोड्ने उद्देश्यसहित हुने यस दुईदिने सम्मेलनमा करिब १५० सहभागी रहनेछन्।
सम्मेलनमा आठ टेक्निकल सेसनमार्फत ७६ वटा अनुसन्धान शोध-सार प्रस्तुत गरिनेछ। पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बेदराज के.सी. प्रमुख अतिथि रहने सम्मेलनमा विभिन्न देशका उच्च प्रतिष्ठित शैक्षिक व्यक्तित्व एवं अनुसन्धानकर्ताहरूले प्रस्तुत गर्नेछन्।
मलेसिया, इटली, भारत, हङकङ, अष्ट्रेलिया तथा नेपालका प्रख्यात विद्वानहरू सहभागी हुने यो सम्मेलनले बहु-विषयक अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य तथा शैक्षिक–व्यावसायिक नेटवर्किङलाई सुदृढ गर्ने कलेजले जनाएको छ।
Research Management Cell (RMC) का प्रमुख तथा सम्मेलन सचिव डा. सुनिल पोखरेलका अनुसार, दिगोपनालाई व्यवसाय, नवप्रवर्तन र सुशासनमार्फत क्रियाशील रूपमा कार्यान्वयन गर्ने उपायमा केन्द्रित छलफल यस सम्मेलनको मुख्य आकर्षण हुनेछ।

