देश तथा विदेशमा रहेका दुमी किरात राईहरु खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन् ।
दुमी किरात राई फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशनका लागि नेपालसहित छिमेकी देश भारतको सिक्किम र दार्जिलिङ तथा हङकङ, अमेरिका र बेलायतमा बसोबास गर्ने दुमी किरात राईहरु खार्मीस्थित रुधालुङमा भेला भएका हुन् ।
‘पुख्र्यौली ज्ञान, साझा पहिचान’ भन्ने नाराका साथ सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन, आर्थिक तथा साङ्गाठानिक प्रतिवेदन पारित र भावी रणनीति निर्माण गर्ने आयोजक दुमी किरात राई फन्सीकीमका महासचिव तेजमाया मुरह दुमी राईले जानकारी दिनुभयो ।
किरात समुदायको महान चाड छीरीयाम्लो (उँधौली) को अवसर पारेर आयोजना गरिएको महाधिवेशनले एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना सचिव, एक कोषाध्यक्ष र एक जना सहकोषाध्यक्षसहित २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने जनाइएको छ ।
महाधिवेशनको औपचारिक उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले ब्यानर वाचन गरेर तथा दुमी किरात राईहरुको नाग्रे कुबी (पित्रे धामी)ले तीन चुल्हा पुजेर गरेका छन् । महाधिवेशन उद्घाटनमा साकेला सिली, मारुनी नाच, कुबी तथा तयातङ्कुबाट मुन्दुमी बखान लगायतका कार्यक्रम प्रदर्शन गरिएको छ ।
