जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक संशोधन नगरी देशलाई नयाँ राजनीतिक दिशामा लैजान नसकिने बताएका छन्।
सुनसरीको धरानमा बुधबारदेखि सुरु भएको जसपाको दुईदिने प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको अवसरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले वर्तमान प्रादेशिक संरचना प्रभावकारी नदेखिएको उल्लेख गर्नुभयो ।
उहाँले पहिचानमा आधारित प्रादेशिक संरचना र निर्वाचन प्रणालीको सुधार अब अपरिहार्य बनेको धारणा राख्नुभयो ।
आगामी फागुन २१ गते निर्वाचन हुनुपर्ने भन्दै उहाँले लोकतन्त्र सुदृढ बनाउन राज्यले भयमुक्त वातावरण र नागरिक सुरक्षाको प्रत्याभूति दिनुपर्नेमा जोड दिनुभयो ।
वर्तमान सरकारले सुशासन, समानुपातिक पहुँच र भ्रष्टाचार नियन्त्रणजस्ता जनताका मुख्य मुद्दा समाधान गर्न असफल रहेको आरोप लगाउँदै यादवले जेनजी आन्दोलनले उठाएका धेरै माग अझै समाधानको चरणसम्म नपुगेको स्पस्ट पार्नुभयो ।