विश्व हिन्दू महासंघ, चितवन जिल्ला कार्य समितिले जिल्लाभित्र विद्यालय तथा मन्टेश्वरीहरूमा बढ्दो धर्मान्तरणसम्बन्धी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।
महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा विकास तथा समन्वय इकाई, भरतपुरलाई पत्रमार्फत केही बोर्डिङ स्कुल र मन्टेश्वरीहरूमा आयातित धर्मका पर्वहरू जबरजस्ती मनाउन लगाइएको, फरक भेषभूषा अपनाउन दबाब दिइएको गुनासो आएको जनाएको छ।
यसले नेपाली समाजको मौलिक संस्कृति, परम्परा र धार्मिक पहिचानमा नकारात्मक असर पार्न सक्ने महासंघको ठहर छ।
नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक देश भएको उल्लेख गर्दै महासंघले स्थानीय, मौलिक तथा सांस्कृतिक पर्वहरूको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएको स्पष्ट पारेको छ।
साथै, विद्यालयजस्ता संवेदनशील शैक्षिक संस्थामा कुनै पनि प्रकारको धर्मान्तरणलाई प्रोत्साहन गर्ने गतिविधि रोक्न जिल्लाभित्रका सबै विद्यालयमा पत्राचार गर्न अनुरोध गरिएको छ।
महासंघका जिल्ला अध्यक्ष प्रेम प्रसाद गैरेले समाजको एकता, सद्भाव र सांस्कृतिक मौलिकता जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

