माघ २–आउँदो फागुन २१ गते हुने तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आज (शुक्रबार) बिहान चितवन जिल्ला अदालतका न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेल र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको समुद्घाटन गर्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृत पौडेलले आज नै चितवनका क्षेत्र नं.१ र ३ मा पनि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिने जानकारी दिए । उनका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन तालिका अनुसार निर्वाचन कार्यक्रम प्रकाशन, मतदान स्थान र केन्द्र तोकिएको सूचना प्रकाशित गरिने छ ।
‘दिउँसो क्षेत्र नं.१ र ३ मा निर्वाचन कार्यालय स्थापना गर्छौ, लगत्तै निर्वाचनको कार्यक्रम अघि बढाउँछौं’–मुख्य निर्वाचन अधिकृत पौडेलले भने ।चितवन क्षेत्र नं.२ मा पर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर–१०, स्थित बाइपास रोडमा रहेको उद्योग तथा वाणिज्य कार्यालयको पुरानो भवनमा स्थापना गरिएको हो ।
त्यस्तै क्षेत्र नं.१ का लागि भूमिगत जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय खैरहनीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ भने क्षेत्र नं.३ का लागि रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरमा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले जानकारी दिए ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचनलाई सफल बनाउन माघ ४ गते सबै राजनीतिक दलदेखि सर्वपक्षीय बैठक बस्ने जानकारी दिए । उनले निर्वाचन कार्यालय स्थापनासंगै ती ठाउँहरुमा जनशक्ति खटाउने काम अघि बढ्ने बताए ।
क्षेत्र नं.१ को निर्वाचन अधिकृतमा सर्वोच्च अदालतका विकास कुमार रजक र क्षेत्र नं.३ मा वन तथा वातावरण मन्त्रालयका उपसचिव बालकृष्ण निरौला निर्वाचन अधिकृत तोकिनु भएको छ । चितवनमा यसपटक कुल मतदाता ४ लाख ४२ हजार ८२ जना रहेका छन् । जेनजी बिद्रोहपछि २० हजार ६९० जना मतदाता थपिएका छन् । यस्तै जिल्लामा कुल १६२ मतदान स्थल रहेका छन् भने ४९४ वटा मतदान केन्द्र तोकिएको छ ।

