राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गर्नुभएको छ ।
उहाँले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गर्नुभएको हो ।
“हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पुँजी फिर्तीका लागि सहज प्रक्रियासहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौँ, नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न प्रतिबद्ध छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
