प्रतिनिधिसभा निर्वाचन-२०८२ नजिकिँदै गर्दा आम मतदाताहरूमाझ उम्मेदवारहरू भाेट माग्न घरदैलाेमा जाने क्रम चलिरहेकाे छ ।
निर्वाचनकाे परिवेशमा कतिपय मतदाताहरू र उम्मेदवार स्वयं सांसदकाे वास्ताविक काम के हाे भन्ने कुरामा अन्याेल रहेकाे देखिएकाे छ ।
संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो । संसदकाे तल्लाे सदन अर्थात् प्रतिनिधिसभामा जम्मा २७५ सांसद हुन्छन् । जसमध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन् भने ११० जना समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत चुनिन्छन् ।
सांसदको भूमिका र दायित्व:
• कानुन निर्माण गर्नु
संसदको मुख्य कार्य कानुन निर्माण गर्नु हो । कुनै पनि राष्ट्रको नीति, योजना र शासकीय प्रक्रिया संविधान र कानुनद्वारा निर्देशित हुन्छ । संसद्ले जनताको आवश्यकतालाई बुझेर प्रशासकीय, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षमा आवश्यक कानुन निर्माण गर्नु पर्छ ।
• बजेट र आर्थिक नीति पारित गर्ने
सांसदले हरेक आर्थिक वर्षकाे वार्षिक बजेटमाथि छलफल गर्ने, कर, राजस्व, खर्चसम्बन्धी प्रस्ताव स्वीकृत गर्ने गर्दछन् ।
• सरकार गठन र नियन्त्रण
सांसदले प्रधानमन्त्री चयन प्रक्रियामा भूमिका खेल्ने, सरकारलाई विश्वासको मत दिने वा फिर्ता लिने तथा विभिन्न प्रकारका काम–कारबाहीमाथि प्रश्न उठाउने, निगरानी गर्ने गर्नुपर्दछ ।
• विकासनिर्माणमा सहभागीता
सांसदले स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारसँग मिलेर कृषि, पर्यटन, प्रविधि, सडक, शिक्षा, स्वास्थ्य, जल–स्रोत, रोजगारी जस्ता क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्नु पर्छ ।
• जनताकाे भावना र जनमतकाे कदर
सांसदहरू जनताबाट निर्वाचित भएर संसदमा पुगेकाले उनीहरूले जनताको आवाज बोल्ने, तिनका समस्या उजागर गर्ने र समाधानको बाटो खोज्ने काम गर्नु पर्छ ।
मतदाता सचेतना अन्तर्गत विभिन्न अनलाइन पत्रिका र सरकारी वेबसाइटकाे सहयाेगमा तयार पारिएकाे जानकारीमुलक लेख ।
– प्रेम पाैडेल उज्ज्वल, (सम्पादक)
