नेपाली राजदूतावास बर्लिन र गैर-आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति डोनोलास्की (Dolnośląskie) को संयुक्त आयोजनामा पोल्यान्डको भ्रोस्वाभ सहरमा सञ्चालित राहदानी वितरण शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
गत जनवरी २ तारिखदेखि सुरु भएको यस विशेष अभियान अन्तर्गत आज मार्च ७ तारिखका दिन भ्रोस्वाभस्थित हिमालयन रेस्टुरेन्टबाट १८६ जना नेपाली सेवाग्राहीहरूले आफ्नो राहदानी (Passport) प्राप्त गरेका छन् ।
राजदूतावासका तर्फबाट रन्जन यादवको नेतृत्वमा खटिएको टोलीले राहदानी वितरण गरेको थियो ।
बर्लिनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सागर फुयालको विशेष सक्रियता र प्रयासस्वरूप दुई महिनाको छोटो अवधिमै पोल्यान्डमा रहेका नेपालीहरूको समस्यालाई सम्बोधन गर्दै यो सेवा घरपायक स्थानमै उपलब्ध गराइएको हो ।
एनआरएनए क्षेत्रीय समिति डोनोलास्कीले यस कार्यक्रमको स्थानीय व्यवस्थापन र सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । पोल्यान्डमा रहेका नेपालीहरूको समय र श्रमको बचत गर्दै राहदानी नवीकरण तथा वितरण प्रक्रियालाई सहज बनाउन यो शिविर कोसेढुङ्गा सावित भएको आयोजक टोलीले पारदर्शी अनलाइन पोल्यान्डलाई जानकारी दिएको छ ।
आफ्नै पायक पर्ने स्थानबाट सेवा लिन पाउँदा सेवाग्राहीहरूले उत्साह व्यक्त गर्दै राजदूतावास र एनआरएनए टोलीप्रति आभार प्रकट गरेका छन्।
