वार्सा । पोल्यान्डमा रहेका नेपाली सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै नवीकरण गरिएका राहदानी वितरण कार्य सम्पन्न गरिएको छ। गत जनवरी महिनामा नवीकरण भएका राहदानीहरू पोल्यान्डका विभिन्न सहरमा पुगेर वितरण गरिएको हो।
मार्च ७ तारिखमा भ्रोस्वाभ सहरस्थित हिमालयन रेस्टुरेन्टमा, मार्च ८ तारिखमा उज सहरको थर्ड आइज रेस्टुरेन्टमा तथा मार्च ९ तारिखमा वार्सा सहरको एभरेस्ट रेस्टुरेन्टमा गरी जम्मा ४०० राहदानी सेवाग्राहीहरूलाई वितरण गरिएको जानकारी प्राप्त भएको छ।
विभिन्न कारणवश उक्त स्थानमा उपस्थित भई राहदानी लिन नसक्नु भएका सेवाग्राहीहरूले पोल्यान्डमा अवस्थित अवैतनिक वाणिज्य दूतावासका राजदूत डाक्टर बोधराज सुवेदीसँग सम्पर्क गरी आफ्नो राहदानी सेवा लिन हार्दिक अनुरोध गरिएको छ।
त्यसैगरी, केही सेवाग्राहीहरूको राहदानी नवीकरण भइसके पनि बैंकिङ समस्याका कारण बर्लिनस्थित नेपाली दूतावासमा रकम नपुगेको कारण राहदानी नआएको भन्ने जानकारी आएको छ। बाँकी राहदानीको अवस्थाबारे जानकारी लिनका लागि सम्बन्धित सेवाग्राहीहरूलाई बर्लिनस्थित नेपाली दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
पोल्यान्डमा राहदानीको म्याद सकिएर विभिन्न कागजी समस्याका कारण धेरै नेपाली सेवाग्राहीहरू डिपोर्ट हुने अवस्थासम्म पुग्ने समस्यालाई ध्यानमा राख्दै समयमै राहदानी वितरणको व्यवस्था मिलाइदिने बर्लिनस्थित नेपाली दूतावास तथा कार्यवाहक राजदूत सागर फुयाल र रञ्जन यादवप्रति आभार व्यक्त गरिएको छ।
त्यस्तै, एनआरएन क्षेत्रीय समिति डोल्नोश्लास्की तथा यस कार्यक्रममा सहयोग पुर्याउनुहुने विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई समेत हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
