रवि लामिछानेको सम्पत्ति शुद्धीकरण मुद्दाको सुनुवाइ भोलि हुने भएको छ।
लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दाको अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट सुनुवाइ पूरा नभएपछि ‘हेर्दाहेर्दै’ मा भोलिका लागि राखिएको हो ।
न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेसी रहेको मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा मंगलबारका लागि सुनुवाइमा राखिएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते सदर गरेको ७ पृष्ठ लामो ’टिप्पणी र आदेश’ मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको थियो ।
महान्यायाधिवक्ता भण्डारीले दिएको निर्देशन अनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेस भए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेका कारण सुनुवाइ हुन सकेको छैन ।
महान्यायाधिवक्ता कार्यालयको निर्देशन अनुसार काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने लामिछानेसहितको अभियोग पत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दिएका छैनन्।
#PRD0821209
