चितवनमा पन्छीमा देखिने बर्ड फ्लु (एच–फाइभ एन–वान) संक्रमण पुष्टि भएको छ । जिल्लाको भरतपुर महानगरपालिका–४ मा रहेको एक व्यवसायिक लेयर्स फार्म तथा नजिकैको एक लोकल फार्ममा उक्त रोग देखिएको हो ।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार देशको पूर्वी क्षेत्रमा देखिएको बर्ड फ्लु हाल चितवनमा पनि पुष्टि भएको हो । उहाँले यस रोगले व्यवसायिक रूपमा पालिएका कुखुरामा प्रभाव पारेको र अन्य चराचुरुङ्गीमा समेत संक्रमण फैलन सक्ने बताउनुभयो ।
उहाँका अनुसार भाइरसजन्य रोग भएकाले यसको नियन्त्रणका लागि जैविक सुरक्षा अपनाउनु अत्यन्त आवश्यक छ । घरमा वा व्यावसायिक रूपमा पालिएका हाँस तथा कुखुराको नियमित स्वास्थ्य परीक्षण, फार्मको सरसफाइ तथा आवतजावत नियन्त्रणमा विशेष ध्यान दिन किसानलाई उहाँले आग्रह गर्नुभयो ।
बर्ड फ्लु देखिएको स्थानमा संक्रमण नियन्त्रणका लागि करिब १८ हजार लेयर्स कुखुरा नष्ट गरिएको छ भने नजिकैको अर्को फार्ममा करिब ९०० लोकल कुखुरा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवनमा वि.सं. २०७८ सालपछि बर्ड फ्लु यस वर्ष पहिलोपटक देखिएको हो र हालसम्म अन्यत्र फैलिएको छैन ।” अघिल्लो पटक २०७८ सालमा बर्ड फ्लु फैलँदा जिल्लामा करिब ८ लाख कुखुरा नष्ट गरिएको थियो ।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार हालसम्म अन्य स्थानमा बर्ड फ्लु पुष्टि नभए पनि जिल्लामा जोखिम भने बढेको छ । उहाँले रोग विभिन्न माध्यमबाट सजिलै सर्न सक्ने भएकाले यसको न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
फार्महरूबीच सामग्री तथा अन्य वस्तुको ओसारपसार गर्दा विशेष सावधानी अपनाउन तथा किसानहरू सचेत रहन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो कुखुरा पालन क्षेत्रको अवस्था नेटवर्किङजस्तै रहेको छ । एउटै सवारीसाधनले विभिन्न फार्ममा अण्डा सङ्कलन तथा दाना आपूर्ति गर्ने गर्छ ।
यसरी सङ्कलन र आपूर्ति गर्ने क्रममा संक्रमित फार्मबाट स्वस्थ फार्ममा जाँदा भाइरस सर्न सक्ने जोखिम रहन्छ ।” उहाँले सुरक्षा तथा आवश्यक सावधानी अपनाएर मात्र फार्महरूमा आवतजावत गर्नुपर्ने र कतै मरेका पन्छी भेटिएमा परीक्षणका लागि ल्याउन अनुरोध गर्नुभयो ।जिल्लामा गत आर्थिक वर्षको तथ्यांकअनुसार करिब एक करोड आठ लाख कुखुरा रहेको पशु सेवा कार्यालयले जनाएको छ ।
