पोल्याण्डमा कानुनी रूपमा कार्यरत नेपाली नागरिकहरूले बैंकिङ सेवामा गम्भीर समस्या भोगिरहेको तथ्य सार्वजनिक भएको छ। नेपाल Financial Action Task Force (FATF) को ग्रे लिस्टमा परेपछि युरोपेली बैंकहरूले नेपाली नागरिकलाई उच्च जोखिम (high-risk) ग्राहकका रूपमा वर्गीकृत गर्न थालेका कारण यस्तो अवस्था सिर्जना भएको जनाइएको छ।
Poland मा रहेका नेपालीहरूले नयाँ बैंक खाता खोल्न अस्वीकार हुनु, सञ्चालनमा रहेका खाता रोक्का वा बन्द हुनु, कमाएको तलब तथा रकम होल्ड गरिनु, साथै बारम्बार अतिरिक्त कागजात माग गरिनु जस्ता समस्याहरू सामना गरिरहेका छन्। यसले उनीहरूको दैनिक जीवन, घरभाडा भुक्तानी तथा परिवारलाई रकम पठाउने प्रक्रियामा समेत प्रत्यक्ष असर पारेको छ।
नेपाली समुदायका प्रतिनिधिहरूले समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। विशेषगरी Nepal Rastra Bank, नेपाल सरकार तथा कूटनीतिक नियोगहरूले युरोपेली बैंकहरूसँग समन्वय गरी तत्काल समाधान खोज्नुपर्ने आवश्यकता औंल्याइएको छ।
यससँगै नेपाललाई FATF को ग्रे लिस्टबाट छिटो बाहिर ल्याउन आवश्यक नीतिगत सुधार तथा पहल गर्नुपर्ने माग पनि उठेको छ। यसले दीर्घकालीन रूपमा विदेशमा रहेका नेपालीहरूको बैंकिङ पहुँच सहज बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।
समुदायले कानुनी रूपमा काम गरिरहेका नेपालीहरूलाई अनावश्यक रूपमा समस्यामा पारिनु नहुने भन्दै तत्काल कूटनीतिक तथा नीतिगत हस्तक्षेपको माग गरेको छ।
