चितवन उद्योग संघको आयोजनामा भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा चैत २७ देखि २९ गतेसम्म ‘दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८२’ आयोजना हुने भएको छ।
उद्यमशीलता विकास, स्वदेशी उद्योगको प्रवर्द्धन, रोजगारी सिर्जना तथा उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो। प्रदर्शनीमा १०० भन्दा बढी स्वदेशी तथा विदेशी स्टल रहनेछन् भने २५ हजारभन्दा बढी उद्योगी–व्यवसायी तथा अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा औद्योगिक मेशिन तथा प्रविधि, हस्तकला, गार्मेन्ट, निर्माण सामग्री, कृषि, ऊर्जा, प्लास्टिक, प्रिन्टिङ र प्याकेजिङ लगायतका उत्पादनहरूको प्रदर्शन गरिनेछ। साथै दोस्रो दिन “नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य” विषयमा विज्ञहरूको सहभागितामा प्यानल छलफलसमेत हुने जनाइएको छ।
निःशुल्क प्रवेश रहने प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रसहित ‘मेक इन नेपाल’ अभियानमा आवद्ध उद्योगहरूको समेत सहभागिता रहनेछ। प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवर्द्धन, आयात प्रतिस्थापन र निर्यात वृद्धिमा टेवा पुर्याउने विश्वास आयोजकले लिएको छ।

